काठमाडौ,
संस्कृतिविद् तथा शताब्दी पुरुष डा.सत्यमोहन जोशी फोक्सोसम्बन्धी रोगका
कारण अस्पताल भर्ना भएका छन् । हिँडडुल र श्वासप्रश्वासमा समस्या भएपछि ९५
वर्षीय उनी राजधानीको वयोधा अस्पतालमा भर्ना भएका हुन् । उनलाई फोक्सोमा
पानी जम्ने रोग प्ल्युरल इफ्युजन भएको अस्पतालले जनाएको छ । एक साता
अघिदेखि उपचाररत जोशीको फोक्सोबाट अहिलेसम्ममा २ लिटर पानी निकालिएको
बताइएको छ । फोक्सोमा पानी जम्मा भइरहने कारण उनको दाहिने छातीमा
शल्यक्रिया गरेर ट्युब राखिएको र सोही ट्युबबाट फोक्सोमा जम्मा भएको पानी
निकाल्ने क्रम चलिरहेको अस्पतालले जनाएको छ ।
डा.श्यामबहादुर पाण्डेको नेतृत्वमा डा.संगीतलाल कसजु, डा.विनोद कार्की,
डा.विश्वकुमार श्रेष्ठ र डा.चिरञ्जीवी पन्तको टोलीले उनको उपचार गरिरहेको छ
। उनको स्वास्थ्य स्थिति बुझ्न उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र
प्रकाशमान सिंह अस्पताल पुगेका थिए । उपचारका लागि दैनिक २५ हजार रुपैयाँ
खर्च भइरहेको र सो रकम नेपाल सरकारले बेहोर्ने समेत निर्णय भएको छ ।
साहित्यकार तथा संस्कृतिविद् जोशीले भाषा-साहित्यको सेवाबापत तीनपटक मदन
पुरस्कार पाइसकेका छन् ।
कात्तिकको अन्त्यदेखि नै अस्वस्थ जोशीलाई गत मंसिर १५ गते त्रिमूर्ति
निकेतनले 'शताब्दी पुरुष'को सम्मानका साथै पाँच लाख रुपैयाँको पुरस्कार
दिएको थियो । नेपाल सरकारबाट पनि छिटै 'शताब्दी पुरुष'को सम्मानले विभूषित
गर्ने उपप्रधानमन्त्री वामदेव गौतमले अस्पताल पुगेर जोशीलाई आश्वासन दिएको
स्रोतले जनायो ।
कान्तिपुर दैनिकबाट

No comments:
Post a Comment