हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Saturday, December 6, 2014

निशाको प्रश्न-अभि सुवेदी

मैले लेखेका नाटकहरूमा निकैजना प्रतीभाशाली महिला कलाकारले खेले । ती सबैका अभिनय अहिले सम्झिन्छु । गुम्बाको परिवेशजस्तो हुन्छ मन जहाँ यिनका अभिनयका सम्झनाहरू मेरो रङ्गमञ्चीय संचेतनामा शक्तिजस्तो भएर बसिरहन्छन्, बुद्धको शान्त मूर्तिको वरिपरि बल्ने दीपशीखाहरू जस्तै । यिनीहरूमध्ये पनि मेरा नाटकका नारी पात्रको मूल भूमिका खेल्ने कलाकार निशा शर्मा पोखरेलको अभिनय शक्तिले अहिले समयको चुनौतीबाट उठेर मलाई चिन्तनशील बनाउँछ । अनौठो सम्झनाका नाट्य चुनौती भएर आउँछन्, कलाकारका अभिनय ।

नाटक लेखिसकेपछि मैले कलाकार छानेको होइन, मूलरूपमा निर्देशक सुनील पोखरेलले छानेका हुन् । निशा पनि उनले नै छानेका हुन् । आफूले निर्देशन गरेका मेरा नाटकहरूमा मूल पाठ खेल्न सुनीलले निशालाई नै लगाएका हुन् । नाटक खेलिसकेपछि सुनील र निशा अनेकौं अवसरमा उग्र भएर बहस गरेको मैले देखें । मलाई त्यो कुरा अत्यन्त चाख लाग्यो । निर्देशन गरेको वा अभिनय गरेको वा खेल्दा कहीं चिप्लेको अनि कहीं सायद पुग्न नसकेर उठेको आक्रोश आपmना साझा आँगनमा ल्याएर पोख्ने रहेछन् कलाकारहरू ।

मानिसहरू सम्बन्धको रचनाकै क्रममा चोक, बहा अनि ढुङ्गेधारा, एकाध बिरुवा रोपेको फूलबारी बनाउँने रहेछन् । मलाई कान्तिपुरी नगरीमा ससाना यस्ता चोकहरू देख्ता मानिसले सम्बन्ध बिसाउन बनाएका वास्तुस्वरूप हुन् कि जस्तो लाग्छ । त्यसैले निशाले मयजुको मूल भूमिका खेलेको भक्तपुर अन्तपुरभित्रको 'आरुका फूलका सपना' -२०५८) नाटकमा मैले त्यही लेखेको थिएँ । यी पात नभएका रूखमा हावा चलेको, पानी सुकेका हिटी र धारामा पानी कलकल बजेको लौ सुन भन्ने पात्रहरू सम्बन्ध र इतिहासका तिनै संरचनाका आकारहरू विषयमा बोलिरहेका हुनेरहेछन्, मलाई लाग्यो । गुम्बा होस् कि, माओवादी जनयुद्ध, भारतका अमूक युद्धमा लडेर हात गुमाउने लाहुरेको परिवेश होस् कि, लुम्बिनीमा वुद्ध बालक जन्माउन हिंडेकी मायादेवीको अहिले उत्खनन भइबसेको 'मायादेवीका सपना' -२०६५) को परिवेश होस् सबैमा मैले आर्किटेक्चरका थलोहरूलाई मानिसकै सम्बन्धका नाटकका निर्मित कलेवर मानेको रहेंछु । निशा र सुनीलले नाटक गरिसकेपछि यसरी झगडा गर्नु त्यही आकार र मञ्चका धूमिल र उज्याला पाटाहरूको व्यवस्थापन र द्वन्द्व दुवै खोज्नु हो, मलाई लाग्यो । अनि यसैलाई लिएर मैले एउटा नाटक लेखें 'नाटकपछिको यात्रा' । यो 'पाँच नाटक' भित्र सङ्कलित छ । त्यसमा दुईजनाको द्वन्द्वले कालिक सीमा पार गर्छ । एकातिर त्यो नाटक ग्रीक नाटकमा गरिने प्रस्तुतिको आकार लिन्छ, अर्कोतिर बौद्ध चेतना र संस्कार अनि गुम्बा र जीवनका परिवेशमा गरिने नाटकीय अभिनय, नाच र गायनको प्रस्तुति हुन्छ । यो बहुकालिक र बहुआयामिक संचेतनाभित्र कलाकार, नाट्यकार र निर्देशक सबैको द्वन्द्वले एउटा चित्रकलाजस्तो रङ्गमञ्च बनिन्छ र यसलाई मञ्चमा उतार्नेले पाश्चात्य र बौद्ध नाट्य चेतना बुझेको हुनुपर्छ । यसमा त्यही सम्बन्ध ल्याउन सक्नुपर्छ भन्छन्, अहिलेका युबा नाट्य समीक्षक र एकेडेमिकहरू । निशाले यो नाटक खेलून् र सुनीलले नै निर्देशन गरुन् भन्ने मलाई इच्छा लाग्छ ।

तर निशाले मलाई केही समयदेखि अत्यन्त चुनौतीपूर्ण प्रश्न गरेकी छन् । तिनको प्रश्न छ- मैले किन धेरैजसो नाटकमा ठाउँ छोडेरै हिँड्नुपरेको पाठ खेल्नुपरेको हो ? के यो मेरो चाखमात्रै थियो र ? यसरी महाभिनिष्क्रमणका नाटकहरू किन लेखिए अनि सबैमा छोडेर जाने महिला नै किन भई ? उनले फेरि भनिन्- उनमा यो सबै स्मृतिले गर्दा एउटा अनौठो आध्यात्मिक-कलात्मक चेतना विकसित भएको छ । अब ती मलाई भन्दैछिन्, 'अभि दाइ, यसरी छोडेर जानेको चित्तबुभmदो उत्तर कि निकाल कि मलाई भक्ति र विद्रोहको सङ्गम गर्ने नारीहरूको जीवन र पाठमाथि आधारित गरेर नाटक लेखिदेऊ । मीरा बाई, यशोधरा, योगमायाजस्ता नारीहरू जसको विद्रोह र भक्तिको नाटक म अभिनय गर्न चाहन्छु ।' तर तिनले मलाई निकै वर्षपहिले यशोधरा वा बिम्बाको नाटक लेख्न भनेर मैले लेखिसकेको छु । 'तीन नाटक' -२०६५) मा 'बिम्बाका सपना' शीर्षकमा त्यो प्रकाशित छ । त्यो नाटक एकल अभिनय गर्नुपर्ने र अलिक चुनौतीपूर्ण भयो । निशाले त्यो कहिल्यै अभिनयमा ल्याइनन् ।

निशाको प्रश्नको उत्तर निकाल्ने प्रयास गर्छु तर यो जटिल प्रश्न हो भन्ने स्वीकार नगरी धर छैन् । निशाले छोडेर जाने नारी पात्रको अभिनय गरिबस्दा उनको चेतनामा परेको असरको विषयमा मलाई प्रश्न राख्दा उनले खेलेका छोडेर जाने नाटकहरूको सम्झना भयो । नोर्वेजियाली उन्नाईसौं शताब्दीका नाटककार हेन्रिक् इब्सेन -१८२८-१९०६) ले लेखेको 'ए डल्स हाउस' जसलाई सुनीलले 'पुतलीको घर' भनेर अनुवाद गरे, निशाले नोरा भएर अभिनय गरेको मूल नाटक हो । नेपाली परिवेश पारेर अनुवाद र प्र्रस्तुत गरेको यो नाटकमा घर छोडेर जाने नोरा एक नमुनापात्र जस्तै हो । इब्सेनको यो नाटक अनेकौं देश र भाषामा प्रस्तुत भयो । भारत, चीन, जापान र नेपालमा नोरा पात्र अभिनीत भई । गोपालप्रसाद रिमालले 'मसान' नाटकमा हेलेन भन्ने नारीलाई नोराजस्तै घर छोडेर जान लगाए । रवीन्द्रनाथ ठाकुरले लेखेको उपन्यास 'चतुरङ्ग' -सन् १९१६) मा दामिनी नायिका घर परिवेशले बाँधिन्न । ऊ विधवा हो, तर ऊ मीरा बाईले कृष्णलाई पति मानेर पति र राजपुत घर छोडेजस्तो, तर बढी यथार्थिक पारामा एउटा सन्तजस्तो पुरुष पात्र सचीशलाई प्रेम गर्छे । सचीश ऊप्रति आशक्त छैन । नोराको अभिनय गर्ने शम्भु मित्रले अनुवाद गरेको 'पुतुलेर खेला' मा बुलुको नोरा अभिनयले सन् १९५८मा समेत हल्लाएको थियो । सन् २००२ नोभम्बर महिनामा ढाकामा भएको बृहत् इब्सेन सेमिनारमा सोनिया निसात् अमिन नामकी विद्वान्ले ठाकुरका घर छोडेर जाने 'स्त्रीर पात्र' र 'पहेला नम्बर' कथाका महिलाको उदाहरण दिएपछि ती कथा खोजेर पढेको थिएँ । मित्सुया मोरीले जापानमा नोरा थिएनन्, भएका भए जापानी समाज पछि पर्ने थियो भन्ने तर्कको मैले उत्तर दिंदा रमाइलो भएको थियो । मैले भनेको थिएँ, 'ती जापानी नारी हल्ला गरेर छोड्दैनन्, छोडेको भए नाटक हुन्थ्यो । तर नबोली घर छोडेर हिंड्नेमा जापानी महिलाको नाम धेरै आउँछ ।' यो सेमिनार अर्को वर्ष फेबु्रअरीमा हैदराबादमा धेरै वर्षपछि हुँदैछ । यसको संयोजन नेपालमा निशाले गर्दैछन् । डा. शिव रिजाल कार्यपत्र प्रस्तुत गर्न जाँदैछन् । अरू पनि जान्छन् होला ।

निशाले गुम्बा छोडेर हिँड्ने भिक्षुणी पूणिर्माको पाठ खेलिन् 'अग्निको कथा' मा । युद्धले जर्जर बेला थियो । त्यो बेला बालबालिकाको सेवा गर्न तिनले छोडेको कथा महत्त्वपूर्ण मान्छौं । नेसनल् स्कुल अपm ड्रामामा भएको नाटक महोत्सवमा निशाले गरेको अभिनय देखेर 'द हिन्दु'ले सन् २०१० फेब्रुअरी उन्नाईसमा चर्चा निकाल्यो । त्यसमा निशाले आफूले नारीको अस्मिता र अभिनय गरेका आफना नाटकहरूमा सबै मेरा नाटकहरूको चर्चा गरेको पढेपछि म भित्रैदेखि हल्लिएको थिएँ । त्यस अन्तर्वार्तामा निशाले 'आरुका फूलका सपना', 'मायादेवीका सपना', 'अग्निको कथा'मा नारीका अनेकौं स्वभाव, यथार्थ र भावगत नाट्य अभिनयमा आफूलाई हेरिरहेको कुरा गरेकी छन् । अनि उनकै अनुरोधमा मैले लेखिदिएको यशोधराको नाटक 'बिम्बाका सपना'मा एकल अभिनय गर्दैछु भनेकी छन् । तर अहिले उनले महाभिनिष्क्रमणका प्रश्नहरू निकालेकी छन् ।

हामीले पात्राहरूलाई किन बाहिर पठायौं भन्ने कुरा इब्सेनकी नोराको भन्दा अलिक फरक रहेछ । मयजु भोटको राजालाई बिहे गरिदिएकी भृकुटीसदृश नारी हो । मायादेवी घर छोडेर शान्तिको मूल वस्तु खोज्न सपनामा बुद्धकी आमा भएर हिंडेकी अनि विपनामा माओवादी युद्धभूमिमा गएकी नारी हो । पूणिर्मा युद्धले आक्रान्तहरूको सेवामा निस्केकी पात्रा हो । नाटक अभिनय गर्नेको अस्मिता नाटकका अवस्थासँग जोडिएको देख्छन्, विख्यात नाट्य कलाकार साइमन कालो । त्यता नलागौं ।

पाँच वर्षको उमेरदेखि अभिनय गरेकी अनि सोह्र वर्षको उमेरदेखि आरोहण गुरुकुलसँग सम्बद्ध निशा शर्मा पोखरेल, सुनील पोखरेलकी जीवन मित्राणी पनि हुन् । यी नेपाल र विश्वका अनेकौं मुलुकमा नाट्य अभिनय गरिहिँडेकी निशालाई मैले रङ्गमञ्चमा र त्यसकै वृत्तवरिपरि मात्र देखें । तिनले जीवन र रुचिको परिवेश पनि रङ्गमञ्चीय नै बनाउँछिन् । तिनले चलाउने सामाजिक सञ्जाल, तिनले भोग्ने समाजको सञ्जाल अनि तिनले साधना गर्ने सबै आलम्बनमा निशा मेरोनिम्ति मूलतः एक नाट्य कलाकार नै हुन् । निशा एक्ली नारी कलाकार होइनन् । नाना तिवारीदेखि अहिले निशापछिका नारी नाट्यकलाकारहरूको लामो इतिहास छ । मैले पछिल्लाबाहेक आफूलाई लागेजति नारी कलाकारहरूको बारे मेरो किताब 'नेपाली थिएटर याज् आई सी इट्' -सन् २००६) मा लेखेको छु ।

निशाको अभिनयमा मैले देखेका एकाध सामथ्र्य यस्ता छन् । तिनले अभिनय गर्दा जीवनको चुनौती र कोलाहल अनि सन्नाटालाई आफनो अभिनयमा परिणत गर्छिन् । अनि ती अभिनयलाई जीवनसँग साक्षात्कार गरेर मिथक र यथार्थको द्वन्द्वमा सहज परिणत गर्न सक्छिन् । निशाको निम्ति नाटक लेख्न बस्दा निशाको महाभिनिष्क्रमण मेरो महायात्रा हुँदो रहेछ । जीवन रङ्गमञ्चमा पात्र भएर समय आफैं बोल्दो रहेछ ।
............................................................................
कान्तिपुर दैनिक को शनिबारिय अंक कोसेली बाट हुबहु सारीएको हो

प्रकाशित मिति: २०७१ मंसिर २० १२:०६


No comments:

Post a Comment