हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Monday, January 13, 2014

मन्डला मा मिज्यु

मञ्चमा मितज्यू

मधु शाही 


काठमाडौ, पुस २९ - कलाकारले अनेकौं जीवनशैली र उमेरजन्य अनुभव गर्न पाउँछन् । शुक्रबारबाट राजधानीको मण्डला थिएटरमा मञ्च प्रारम्भ भएको नाटक 'मितज्यू'मा बुद्धि तामाङ र विजय बराललाई यस्तै भइरहेको छ । उमेरले ३० वर्ष पनि ननाघेका बुद्धि र विजय यतिबेला ८० वर्षे बुढाको चरित्र निर्वाह गरिरहेका छन् । जनजाति चरित्रमा देखिने बुद्धि बुढो बन्न चिम्सो आँखाले साथ दियो भने माझी समुदायको चरित्र गरेका विजयले चाहिँ जुँगा खैरो बनाउनुपर्‍यो ।

ठाडो ढाड कुप्रो पार्दै थरथराउँदो बोली बनाइरहँदा अभिनय ठिकै लागे पनि उमेरका कारण स्वभाविकता भन्दा बढी नाटकीयताको आभाष भने हुन्छ । दयाहाङ राईको निर्देशन र सोमनाथ खनालको लेखन रहेको एकघन्टे नाटक विषयवस्तु कमजोर लागे पनि प्रस्तुति भने रमाइलो लाग्नेछ । एक महिनासम्म अभ्यास गराइरहँदा निर्देशक दयाले नाटकका लागि पाका कलाकार खोजेका पनि थिए । 'सकेसम्म फिल्ममा जस्तै फिट एक्टर राख्न खोजेको थिएँ,' पछिल्लोपटक नाटकमा भन्दा फिल्ममा व्यस्त दयाले भने, 'तर, पाउनै गार्‍हो ।'

मञ्चमा बुद्धि र विजय जस्ता युवा कलाकारले वृद्धको भूमिका खेलिरहँदा दयालाई आफूले अभिनय गरेको पहिलो नाटक 'सिरोमा रानी' याद आएको सुनाए । उति बेला २१ वर्षका उनले ७५ वर्षको वृद्धको अभिनय गर्नुपरेको थियो । 'पहिलो नाटकमै बुढो रोल पाएको थिएँ,' उनले हाँस्दै भने, 'भोग्दै नभोगेको अभिनय गर्न धेरै मेहनत गर्नुपर्दो रहेछ ।' त्यसबेला नाटक निर्देशक अनुप बरालले 'ड्रामा भनेकै यस्तै हो' भनेर सम्झाएको पनि दयाले बताए । दयाले अहिलेसम्म ५ वटा नाटक निर्देशन गरिसकेका छन् ।

उनका सबैजसो नाटकमा गम्भीरताभित्र पनि रमाइलोपन झल्किने गर्छ । दयाकै नाटक 'डिग्रीमाइला' हेरेपछि आफूलाई फेरि नाटक हेर्न मन लागेको दर्शक आशीष अधिकारीले बताए । 'मितज्यू' दुई वृद्धले आफ्नो किशोरावस्थातर्फ फर्केर हेर्दा देखिने 'फ्ल्यासब्याक' कथा हो । झगडा भएर मित्रता टुट्ने घटना समाजमा धेरै भेटिन्छन् । तर, लेखक सोमनाथले नेपालको पूर्वी भेगमा झगडा गरेपछि मितेरी साइनो लगाएर सम्बन्ध अझ गाढा बनाउने सु-संस्कृतिलाई नाटकमा उधिनेका छन् । हजुरबुबाले सानैमा सुनाएको 'भालुमित' कथा सम्झेर सोमनाथले नाटक रचेको बताए । 'हजुरबुबा झगडाबाटै मित्रता सुरु हुन्छ भन्नुहुन्थ्यो,' उनले भने 'त्यतिबेला सुनेको भालुमितको सार पनि त्यही थियो ।'

'रगतको नाताभन्दा पनि मितेरी नाता गाढा हुन्छ' भन्ने संवादभित्र नै नाटकको मूल भाव झल्किन्छ । उतिबेलाका बुढापाकाको जीवनशैली, रमाइलो गर्ने तरिका, प्रेम गर्ने शैली, अधुरो प्रेमको परिणाम र त्यसबेलाको परिवेशलाई नाटकमा 'फ्ल्यासब्याक' को रूपमा देखाउने प्रयास गरिएको छ । नाटकमा सिर्जना सुब्बा, सुलक्षण भारती, उमेश तामाङ, किरण सुनुवार, मोहम्मद नाजिर हुसेन, विकास जोशी, आर्जेश रेग्मी, जुनु विष्ट, चन्दा राई, शारदा अधिकारी, सुरज ठकुरी, जलन लामिछाने, आर्यन गुरुङ, सारुक ताम्राकार, संयोग जीएन, अन्वेष थुलुङ लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति: २०७० पुस २९ १२:२

No comments:

Post a Comment