हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Sunday, January 19, 2014

मञ्चमा कलगर्ल र लेखक

काठमाडौ, माघ ५ - वरिपरि टेबल, ओछ्यान, कुर्सी लगायत भौतिक सामग्री छरपस्ट छन् । नाटक हेर्न  कालिका स्थानस्थित सर्वनाम थिएटर पसेका दर्शकहरू मञ्चको ओल्लो र पल्लो छेउमा पालैपालो आँखा डुलाउन थाल्छन् । दायाँपट्टि चस्मा लगाएका लेखक पात्र उपन्यास लेख्न व्यस्त देखिन्छ, उनको ठीक विपरीत बायाँतर्फ काव्या नामक कलगर्ल अनुहार सिंगार्दै व्यस्त । लेखक र कलगर्ल (यौनकर्मी) यी दुवै फरक पात्र हुन् । व्यवहार, बुझाइ र जीवनशैली पनि फरक छ । तर उनीहरूबीचको पीडा भने एउटै छ । पीडाको कारक तत्त्व पनि एउटै छ- 'समाज' ।
सर्वनाममा नियमित मञ्चन भइरहेको नाटक 'स्फटिक' ले यी दुई पात्रको जीवन चरित्रमार्फत समकालीन समाजको कथा भन्छ । व्यक्तिको बुझाइ, मनोविज्ञान, आवश्यकता र दृष्टिकोणलाई समाजले कसरी डोमिनेसनमा राख्न खोज्छ भन्ने बुझ्न यो नाटकले सघाउँछ । राज शाह र अर्जुन न्यौपानेको परिकल्पना र दिपेश पौडेलको लेखन र निर्देशन रहेको नाटकमा खोक्रो नियम र कानुन तेस्र्याएर मानवीय स्वतन्त्रतामाथि समाजले लाउने बन्देजमाथि व्यंग्य गरेको छ ।
पहिलो दृश्यमै सिंगारमा केन्दि्रत यौनकर्मीको जीवनी सुरु हुन्छ । रोचक पक्ष के छ भने एउटै मञ्चमा लेखक र यौनकर्मीको चरित्रलाई एकैसाथ देखाइएको छ । रत्नपार्कमा नांगै हिँडेको पात्रलाई कल्पनामा उतारेर लेखकले उपन्यास लेखिरहेका हुन्छन् । तर दुर्भाग्य उनको त्यो मनोभाव र सिर्जनाको कदर प्रकाशकले गर्दैन । पाप पखाल्न ढुंगाको मूर्ति पुज्ने, भित्री पीडा सहेर बाहिर नाटकीय हाँसो हाँस्ने मान्छेको हास्यास्पद संस्कार र चरित्रविरुद्ध लेखकले उपन्यास लेखेका हुन्छन् । स्वतन्त्र हुनबाट रोक्ने समाजका लागि यी पात्र बारम्बार सिर्जनामार्फत चुनौती दिन्छन् तर समाजकै कारण उनले असफलता भोग्नुपर्छ ।
उता यौन व्यवसायमा लागेकी महिलाको अवस्था पनि उस्तै छ । कठोर हृदयकी ती महिला देख्दा जस्ती देखिन्छिन्, वास्तविकतामा फरक । देह व्यापार गर्नु र पैसा कमाउनु मात्रै उनको जीवनको लक्ष्य हुन्छ । समाजले उनलाई हेर्ने दृष्टिकोण नकारात्मक भए पनि उनको आन्तरिक कथा व्यथा थाहा पाएपछि जो कोहीमा पनि करुणा र दया जाग्छ । 'आफैं भएकी होइन, समाजले बाध्य बनायो,' उनी बारम्बार भन्छिन् । बलात्कार भई जन्मिएको बच्चालाई स्वास्थ्य उपचार गर्न ती महिलाले रोजगार नपाएपछि यौन पेसामा लाग्नु कथा नाटकमा देखाइएको छ । उनलाई जुन समाजका मानिसले बलात्कार गर्‍यो र त्यही समाजले खुलेर बाँच्न दिएको छैन । राम्रो गर्दा पनि समाजले औंला उठाउँछ, नराम्रो गर्दा पनि । यता उपन्यास नछापिएपछि लेखक पागलजस्तै बर्बराउन थाल्छन् । मञ्चमा देखिने यी दुवै पात्र नाटकको जस्तो लागेपछि त्यहाँ दर्शकले आफैं या आफ्नै वरिपरिको समाजका चरित्रहरूलाई महसुस गर्छन् ।  
नाटकमा सेतो प्लास्टिकको ढोका बनाएर अपारदर्शी जेलका रूपमा समाजको प्रतिविम्ब देखाइएको छ, जुन अत्यन्त सिर्जनात्मक लाग्छ । 'दर्शकको मनमा नाटकका दृश्य समाहित गराउनु नै हाम्रो उद्देश्य हो,' निर्देशक दिपेशले भने । उनले मञ्चमा धेरै सामग्री प्रयोग गर्नुको अर्थ खुलाए । पछिल्लो समय नाट्य प्रस्तुतिमा प्रायः माइम र शारीरिक हाउभाउको प्रयोग गरिने संस्कृति बढ्दै गइरहेका बेला पछिल्लो युवा पुस्तालाई आकषिर्त गर्न भौतिक सामग्रीको प्रयोग गरेर फिल्मी स्वाद दिन खोजिएको दिपेशले दाबी गरे ।
तीन महिनाको प्रशिक्षण कार्यशालापछि ८ जनाको समूहले नाटक तयार पारेका हुन् । सर्वनामका श्याम खड्का मूल पात्र लेखकको भूमिकामा देखिएका छन् । त्यस्तै आदित्य शर्मा, अर्जुन न्यौपाने, कविता बाहिङ राई, कौशल पण्डित, राज शाह र साधना भण्डारीले आ-आफ्नो भूमिका अनुसार मन छुने अभिनय गरेका छन् । नाटक १५ माघसम्म मञ्चन हुने जनाइएको छ ।
प्रकाशित मिति: २०७० माघ ५ ११:४

No comments:

Post a Comment