शोभा शर्मा काठमाडौँ, चैत ३ (सेतोपाटी डट कमबाट )
गुरुकुलका थिएटर भत्काइँदै थियो। ती थिएटरका भित्ताहरु भत्काउँदा ड्याम्म आवाज आउँथ्यो।
त्यो आवाजले त्यहाँका कलाकारहरुको मन भत्काउँथ्यो। मन भत्किएको आवाज त भित्ताहरु भत्किएको भन्दा चर्को आउँथ्यो तर त्यो उनीहरुले मात्रै अनुभव गर्थे।
‘गुरुकुल भत्किँदै जान्थ्यो, सँगै हाम्रो मन पनि,’ अनामनगरको एउटा चिया
टेबलमा पशुपति राई रंगमञ्चको केन्द्र बन्दै गएको गुरुकुल भत्किएका ती दिन
सम्झेर भावुक बनिन्।
गुरुकुलमै उनले ‘नाटक के हो’ भन्ने जानेकी थिइन्। धरानबाट त्यहाँ उनी आइपुगेको त नाच्नलाई थियो।
पशुपतिलाई नाच्नुको सोख बसेको सानैदेखि हो। उनका बाआमाको पसलनिरै एउटा
टिभी पसल थियो। आफ्नो घरमा चाहिँ थिएन। त्यही पसलमा टिभी हेर्ने उनको लत
बस्यो। पसलेले सधैँ त हेर्न कहाँ दिन्थे र?
दिनभरि टिभीमा गीत र
नाचहरु आउँथे। बेलुका पसलको ढोका लगाइन्थ्यो अनि पशुपति आफ्ना संगीहरुलाई
बटुलेर आफूले लुकिलुकी सिकेका ‘डान्स स्टेपहरु’ सिकाउँथिन्।
तिहारमा देउसीभैलोमा पनि उनी नाच्थिन्। तर मनमा एउटै जगजगी हुन्थ्यो, कता
स्कुलका सरहरु आइपुग्ने हुन भन्ने। नाच्नु भनेको बिग्रनु थियो समाजका लागि।
स्कुलमा उनले आफू नाच्ने कुरा सधैँ लुकाइन्, किनभने उनी राम्रै विद्यार्थी
थिइन्, त्यसमाथि लजालु। पढाइभन्दा अन्य क्रियाकलाप गर्नेलाई उनका
शिक्षकहरु बिग्रेका विद्यार्थीमा राखिदिन्थे।
शिक्षकहरुले
नाच्नुलाई राम्रो मान्दैनथे। देखे भने ठाउँमै नभए स्कुलमा गएर भन्थे,
‘पढ्नु छैन नाचेरै बिग्रने भयौ।’ उनलाई त्यो बिग्रन भने कति रहर थियो भने!
नाच्न बा–आमाले भने रोकेनन्। अल्लि पछि उनी अनाम नाट्य जमातमा नाच सिक्न गइन्।
अनाम जमातमा नाच सिकेको पनि दुई बर्ष बिते। उनी बिरामी बाबालाई भर दिएर बसिन्।
एकदिन अनाम नाट्य जमातको कसैले उनलाई खबर पठाए – गुरुकुलमा जाने मान्छे भए
पठाउनु भनेको छ हामीले तिम्रो नाम सिफारिस गर्यौँ, जाने भए भोलि खबर
गर्नू।
काठमाडौँ उनले भ्रमण पनि जान नपाएको ठाउँ थियो।
उनी गुरुकुल आउने भइन। छात्रवृत्ति समेत पाइन।
गुरुकुलका शुरुवाति कक्षाहरुमा, बिहानै उठेर ग्राउण्डमा कुद्दा त उनी अचम्म पर्थिन् के गरेको होला भनेर।
नाच्न भनेर आएकी उनी यहाँ नाटक पो सिकाउँछन्। कहिलेकाहीँ फेरि नाच्न पनि पाइन्थ्यो।
के होला यो नाटक भनेको !
उनले त्यही अचम्ममा आफूलाई बानी पार्दै लगिन्।
नाटकको भाषा सिक्न धेरै समय लाग्यो उनलाई।
पुरानोबानेश्वरमा एउटा थुम्कोमा थियो गुरुकुल। त्यहाँ दुईवटा थिएटर थिए। त्यही उनीहरुको होस्टल थियो। र त्यही उनीहरु नाटक पढ्थे।
यहाँ सधैँ जीवनलाई अवलोकन गर्न सिकाइन्थ्यो। त्यही अवलोकनले नाटक गर्न सघाउँथ्यो।
‘क्लासले यो बाटो लाग भनेर सिकाउने हो, बाटो खोज्ने त आफैले हो नि,’ उनले प्रष्ट पारिन्, ‘अभिनय त आफैँले खोज्ने हो।’
उनले अभिनय गर्नलाई के सिकिन्?
‘चरित्र बुझ्न र उसलाई अनुभव गर्न।’
उनलाई थाहा थिएन, यो चरित्र बुझ्ने भनेको के हो?
‘नबुझ्दा फाइदा हुन्छ मैले नाटक राम्रो गरेको छु भन्ने लाग्छ।’
जब नाटक अल्लि बुझ्न थालिन्, उनलाई आफ्ना कमजोरीहरु बढी थाहा भए।
हरेक शो मा आफ्ना गल्ती भेटिन्थे।
‘एउटा कलाकारलाई राम्रो गरुँ भन्ने तिर्सना कहिलै मेटिदैन त्यसपछि।’
सत्यमोहन जोशीले लेखेर सुनिल पोखरेलले निर्देशन गरेको नाटक बाघभैरव पशुपतिको पहिलो नाटक हो। त्यसपछि उनले १४/१५ वटा नाटक गरिन्।
गुरुकुलमा एक समय यस्तो थियो जहाँ धेरै कुरा सिक्ने माहोल थियो। पशुपतिले त्यहाँ धेरै ‘पोजेटिभ इनर्जी’ अनुभव गर्थिन्।
उनले पोजेटिभ इनर्जी अनुभव गर्ने त्यो डाँडाबाट गुरुकुल हट्ने भयो। त्यहाँ
नाटक कविता र अन्य कार्यक्रम हुन्थे जसले उनीहरुलाई जीवन र कलासँग नजिक
बनाउँथ्यो।
गुरुकुलले रंगकर्मीहरुलाई गौरवान्वित बनाएको थियो झैँ लाग्छ पशुपतिलाई। जो भत्किने खबर आयो। केही समयपछि भत्काइन थाल्यो।
गुरुकुलका भित्ताहरु त भावनाले भरिएका रैछन्। भत्किन सुरु गर्यो
उनीहरुलाई असह्य पिडा भयो। तर जब भत्किँदै गयो पछि त उनीहरुले कति भत्क्यो
भनेर गन्न थाले। आखिरमा गुरुकुल सकियो, उनीहरु पनि संवेदनाशून्य भए। त्यहाँ
पशुपतिले अनुभव गर्ने पोजेटिभ इनर्जी पनि हरायो। गुरुकुलको डाँडा केही
समयसम्म उदास र उराठलाग्दो उभिरह्यो।
त्यहाँका जुनियर कलाकारहरु घरबासै नभएका जस्ता, टुहुरा जस्ता भए। गुरुकुल फेरि बनेन। सानातिना काम पनि पाइदैनथे।
ती दिन उनीहरुका लागी कष्टमय थिए। जसको अभिनय गर्ने मञ्च भत्किएको थियो।
एकमन त पशुपतिले पनि घर फर्केर जाने सुर बनाएकी थिइन्। तर करियर बनाउँदा
बनाउँदै छोडेर जान सकिनन्। सानातिना सडक नाटकहरु पाइए। तिनमै अल्झिएर
बसिन्।
एकदिन कसैले सुनायो लोकनाटक महोत्सव हुदैछ। महोत्सवमा आफूले पनि नाटक देखाउने सोच आयो उनको।
के गर्ने त?
हेत्छाकुप्पा भन्ने किताब लेखब राजन मुकारुङले लेखेका थिए। त्यो
किँरातहरुको किम्बदन्तीमा आधारित थियो। त्यसैमा आधारित नाटक बनाउने सोचिन्
पशुपतिले। उनले लेखकलाई भेटिन। उनले हौस्याए।
रित्तै घर हिँडेकी पशुपति नाटक बनाउन धरान गइन्। किन भने नाटक राजधानी बाहिरबाट लिएर आउनुपर्थ्यो।
आफुले नाच्न सुरु गरेको संस्था अनाम नाट्य जमात बाट र अर्को सृष्टि नाट्य
संस्था बाट कलाकारहरु जुटाइन्। र, फुपुको घरको खाली कोठामा नाटक रिहर्सल
चलाइन्।
कम्ता दुखले उनले हेत्छाकुप्पा बनाइनन्।
त्यो नाटक महोत्सवमा राम्रो मानियो।
‘मैले आफ्नो अभावको जिन्दगी, अर्को तिर खाली बस्नुको पीडा सहन नसकेर आँट गरेको हो।’
त्यही नाटक काठमाडौँमा साथीहरुलाई देखाइन्। उनीहरुले राम्रो मानेपछि उनले यहाँ मञ्चन गराउने सोचिन्।
उनले नाटकको ब्रोसरमै लेखेकी छन्– नाटक मञ्चको तिर्खाले गर्दा यो नाटक तयार भएको हो।
दिदिबहिनी र एउटा भाइको स्नेहको कथा हो हेत्छाकुप्पा। राक्षसबाट जोगाउने
दिदीले एकदिन आफ्नो भाई हेत्छाकुप्पालाई पिट्छिन्। तर ऊ मर्छ। भाइबिना
दिदिबहिनी बस्नै सक्दैनन्। भाइ पछि विउँझिन्छ। बाँच्नका लागि
हेत्छाकुप्पाले राक्षससँग गरेको संघर्ष र दिदीहरुलाई खोज्न उसले पाएका
दुखको कथा हो यो। नाटकलाई पशुपतिले बढो रमाईलो बनाएकी छन्। यो नाटक चैत ७
गते सम्म चल्ने छ।
‘नाटक बनाउने बेला मैले सन्देशको बारेमा सोचेकै थिइन सिर्फ नाटक बनाउने ध्याउन्न थियो।’
नाटकको तिर्खाले निर्देशनमा हाम फालेकी पशुपति राईको नाटक हेरेपछि उनका गुरु सुनिल पोखरेलले उनलाई प्रशंसा गरे।
‘सरले नानी राम्रो गर्यौ भन्नु भयो बल्ल म ढुक्क भएँ।’ उनको अनुहारमा
सन्तोष भरियो ‘सरले नराम्रो भएको भए नराम्रै भन्नुहुन्थ्यो नि, जब राम्रो
भन्नु भयो बल्ल मलाई आनन्द भयो।’

No comments:
Post a Comment