हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Tuesday, May 20, 2014

कमाउन थाले नाटकले

कमाउन थाले नाटकले
-------------------------------
सुशिल पौडेल (कान्तिपुर दैनिक बाट )

काठमाडौ, जेष्ठ ६ - कुनै बेला दुखियाको पेसाजस्तो मानिने नाटयक्षेत्र हिजोआज बौराएको छ । नाटक पनि बिक्न थालेका छन् । नाटक मञ्चन गरेरै अर्थोपार्जन हुन थालेपछि संलग्न रंगकर्मीमा उत्साह थपिँदै गएको छ ।

नायक राजेश हमाललाई पहिलो पटक मञ्चमा पस्किएर ठूलो मिडिया हाइप सिर्जना गर्न सफल निर्देशक अनुप बरालले 'कोर्टमार्सल' का ३५ शोबाटै खर्च कटाएर १५ लाख रुपैयाँ कमाएको दाबी गरे । उक्त नाटक समालोचना र व्यावसायिक दुवै पाटोमा अब्बल ठहरियो । झन्डै साढे चार लाख रुपैयाँ सेट र कस्ट्युममा खर्च गरेका अनुपले नाटकका कलाकारलाई एक लाख रुपैयाँसम्म पारिश्रमिक दिएका थिए । चैत २८ मा अनामनगरस्थित मण्डला थिएटरमा मञ्चित आरोहण गुरुकुलको नाटक 'रसोमोन' ले २९ शोबाट ६ लाख रुपैयाँभन्दा बढीको टिकट बेच्यो । डेढ सय सिट क्षमताको मण्डलामा एक सय र दुई सयका टिकटबाट 'रसोमोन' ले यतिका रकम बटुलेको हो । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा राम्रो चलेको नाटक 'कोमा' ले पनि २८ शोबाट तीन लाख रुपैयाँका टिकट बेचेको घिमिरे युवराजको दाबी छ भने कालीकास्थानको सर्वनामले नयाँ वर्षसँगै एक महिना मञ्चन गरेको नाटक 'शकुनि पासा' ले राम्रो दर्शक बटुलेपछि यतिबेला पुनः शो राखिएको छ । उक्त नाटकले पहिलो प्रदर्शनबाटै डेढ/दुई लाख रुपैयाँ उठाएको बताइएको छ । मण्डलाको नाटक 'डिग्री माइला' ले पनि दुई पटकको ६२ शोबाट झन्डै ८ लाख रुपैयाँ कमाएको दयाहाङ राईले बताए ।

'यतिबेला नाटक हेर्न नपाएर फर्किनेको लर्को देख्दा दुःख लाग्छ,' हालै 'रसोमोन' नाटक हाउसफुल भएपछि फर्किएका दर्शकलाई हेरेर गुरुकुलका निर्देशक सुनील पोखरेलले भनेका थिए । उनी पछिल्लो समय थिएटरमा आएको दर्शक उभार देखेर सन्तुष्ट देखिए । शिल्पीका घिमिरे युवराज भन्छन्, 'पहिले दर्शक नभएर नाटक रद्द गर्नुपरेका उदाहरण पनि छन् । हिजो दर्शक थिएनन्, नाटकको स्तर पनि थिएन सायद । तर अहिले दर्शकमा नाटक हेर्ने हयाबिट नै बनिसकेको छ ।' उनी

निजी स्तरमा नाटकघर खुल्नु र नाटकबारे सैद्धान्तिक शिक्षा हुनुले पनि दस वर्षयता व्यापक परिवर्तन आएको मान्छन् ।

सर्वनामका प्रमुख अशेष मल्ल नाटकमा सक्रिय भएकै ३० वर्षभन्दा बढी भइसक्यो । उनीचाहिँ नाटकका दर्शक पहिले पनि भएको जिकिर गर्छन् । तर भन्छन्, 'अहिलेका दर्शक स-साना गल्ती पनि थाहा पाउने सचेत खालका छन् भने रंगकर्मी पनि प्राविधिक रूपले सबल छन् ।' २०६२/०६३ को जनआन्दोलनपछि जनचेतनाको लहर कलाक्षेत्रमा बढी देखिएको मल्लको बुझाइ छ । एक्टर्स स्टुडियोका अनुप बराल नाटकमा प्रयोगसँगै जोखिम मोल्न माहिर छन् । 'कोर्टमार्सल' को बेला पाँच सयको टिकट मूल्य राखेपछि धेरै अत्तालिएका थिए । 'थिएटर भिलेजकै साथीहरू चल्ला र दाइ यति महँगो टिकट राख्दा भनेर शंका गर्थे । तर पछि अगाडि बसेर हेर्न मान्छेहरू त्यही पाँच सयको टिकट खोजी खोजी किन्न थाले,' अनुपसँगै सुनील पोखरेल र अशेष मल्लसँग पनि टिकट महँगो पार्दाको रमाइला किस्सा रहेछन् । झन्डै आठ वर्षअघि बरालले 'बाँकी उज्यालो' नाटकलाई गुरुकुलको थिएटरमा देखाउने भए । त्यसताक गुरुकुलमा २५ रुपैयाँमा नाटक हेर्न पाइन्थ्यो । उनले एकाएक बढाएर एक सय रुपैयाँ बनाएपछि सुनील सरसँग झगडै परेछ । 'सरलाई यसरी टिकट बढाउँदा दर्शक भडकन्छन् भन्ने लागेपछि मसँग झगडा नै भयो । उहाँले दर्शकलाई विस्तारै बानी पार्नु पर्नेमा जिकिरपछि मैले पनि कलाकार पनि बाँच्नुपर्छ । अब त्यो समय आइसक्यो भनेर अड्डी कसें । 'टलकजंग भर्सेस टुल्के' मा पनि त्यही दोहोरियो,' अनुपले सर्वनाममा 'ओह स्टार दुनियाँ' गर्दा अशेष मल्लसँग पनि टिकट दरका विषयमा बहस चलेको सम्भिmए । केही वर्षयता टिकट किनेरै नाटक हेर्ने संस्कृतिको विकास हुन थालेपछि घिमिरे युवराज दंग छन् । उनी त भन्छन्, 'प्राइभेट थिएटरका काउन्टरमा हरेक दिन पैसा कलेक्ट हुन थालेको छ । जहाँसम्म मलाई थाहा छ, यस्तो त भारतमा पनि हुँदैन ।'

नाटकलाई कला मात्रै नभई व्यवसाय पनि मान्ने अशेषले टिकट बिक्रीबाट नाटकको प्रोडक्सन खर्च उठ्न थाले पनि अझै सोचेजति लार्ज स्केलमा हुन नसकेको मान्छन् । 'तर भविष्यमा यो सम्भव हुने देखिँदै छ,' उनले भने, 'नाटयकर्मीले नाफामुखी बन्ने बारेमा त सोच्दैन । तर बाँच्ने र गुजारा चलाउने आधार त खोज्छ नै । अब थिएटरमा बिजनेसम्यान पनि तान्नुपर्छ ।' नाटकका टिकट पनि सोल्ड आउट हुन थालेपछि यतिबेला रंगकर्मीमा उत्साह थपिएको छ । शिल्पीका घिमिरे नाटकले कमाइ गर्न थालेपछि एनजीओ/आईएनजीओको डोनेसनमा गरिने विकासे नाटक हटेर गएको र कलात्मक काम हुन थालेको मान्छन् । उनी टिकट बिक्री रकमले कलाकारलाई भरथेग तलब खुवाउन सकिएकोमा सन्तुष्ट पनि देखिए । अनुप पोखरा बसेर थिएटरमा गरेका संघर्षका सुरुआती दिन सम्झँदा अहिले व्यापक फड्को मार्न सकेको ठान्छन् । 'त्यसताक सेट बनाउने र कस्टयुम किन्ने पैसा हुँदैनथ्यो । घरकै सामान बोकेर सेट बनाउनुपर्ने बाध्यता हुन्थ्यो । गाली गाइन्थ्यो,' अनुपले थपे, 'तर अहिले उधारोमै पनि सेट बनाउन सकिने अवस्था छ । नाटकले कमाउन थालेपछि पत्याउने वातावरण बनेको छ ।' भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा पढेर २०५३ सालतिर स्वदेश फिर्दा कतिपय रंगकर्मीले नै उनी फर्केकोमा प्रश्न गरेका थिए । 'त्यो बेला उहाँहरू नै दालभात खान गाह्रो छ भन्नुहुन्थ्यो । नाययक्षेत्र नै पलायनको बाटोमा थियो । तर अहिले परिस्थिति फेरिएको छ । दर्शक बढ्दै गएका छन् । त्यसैले डिमान्ड पनि बढ्दै छ र प्रतिस्पर्धा चर्को छ । जोखिम पनि यही बेला छ । त्यसैले थिएटरका लागि यो बेला चुनौतीको पनि हो,' अनुपले भने ।

यतिबेला राजधानीमा मण्डला, सर्वनाम, शिल्पी र थिएटर भिलेजमा नियमित नाटक मञ्चन हुन थालेका छन् । सबै थिएटरमा प्रायः एकै समयमा नाटक मञ्चन हुँदा पनि सबैजसो शोहरू हाउसफुल जान थालेका छन् । यतिबेला पनि मण्डलामा 'मुठभेड', शिल्पीमा 'म्हेन्दोमाया', थिएटर भिलेजमा 'सिगल' र सर्वनाममा 'शकुनि पाशा' लागिरहेका छन् ।



प्रकाशित मिति: २०७१ जेष्ठ ६ ०९:२५

No comments:

Post a Comment