अशेष मल्लको परिकल्पना, लेखन र निर्देशन रहेको यो नाटक यतिबेला राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नियमित -बिहीबारबाहेक) मञ्चन भइरहेको छ । पुरानै भए पनि सर्वनामको नाट्य-यात्राले ३३ वर्ष पार गरेको अवसर पारेर नियमित मञ्चनमा ल्याइएको यो नाटकले नेपाली समाज, राजनीति र जीवनको समकालीन चरित्रलाई चिरफार गर्ने कोसिस गरेको छ । बीचबीचमा कवितात्मक संवादहरूले काव्य-नाटकजस्तो स्वाद दिने यो नाटकलाई आधुनिक नेपाली महाभारतको रूपमा लिन सकिन्छ ।
नैतिकताको स्खलन र मूल्य- मान्यताको विगठनलाई नाटकले चर्को रूपमा व्यंग्य गरेको छ । महाभारतको शास्त्रीय कथामा युधिष्ठिरलाई मर्यादाको परिपालक र नैतिकताको धरोहरको रूपमा व्याख्या गरिएको थियो, अहिलेको युधिष्ठिर चुनाव जित्नका लागि षड्यन्त्रकारी मामा सकुनीलाई उप-प्रधानमन्त्री या कुनै महत्त्वपूर्ण राजनीतिक नियुक्ति दिने प्रलोभनका साथ फकाउन पुग्छन् र जसरी पनि चुनाव जित्ने र सत्तामा पुग्ने प्रपञ्च रच्छन् । राजा धृतराष्ट्रलाई महाभारत युद्धको प्रत्यक्ष वर्णन सुनाइरहेको सञ्जयले भन्छन्- 'युधिष्ठिरहरू अब मैदानमा छैनन्, सर्वत्र दुर्योधन नै दुर्योधन मात्रै
देख्छु म ।'
आजका युधिष्ठिरहरू नै दुर्योधनको चरित्रमा रूपान्तरित भएको सन्दर्भलाई नाटकले अहिलेको समाज र राजनीतिसँग जोडेर सुन्दर ढंगले प्रस्तुत गरेको छ । युद्धको सट्टा चुनावलाई परिवेश बनाएको नाटकका पात्रले 'आधुनिक महाभारत' दर्शाउन चुनाव परिणामबारेको अड्कलबाजी फेसबुक र ट्वीटरहरूमा भइरहेको सन्दर्भ जोड्छन् । अंग्रेजी मिसाएर संवाद बोल्छन् । प्रकाश परिचालनको माध्यमबाट गरिएको दृश्य विभाजनले कथावाचनलाई सहज पारिदिएको महसुस हुन्छ । सामान्य स्टेजमा कलाकारहरूले कहिले युद्धमैदान, कहिले धृतराष्ट्रको कक्ष त कहिले पासा खेल्ने खालको रूपमा रूपान्तरण गर्छन् । सर्वनामले अभ्यास गर्दै आएको मितव्ययी रंगमञ्चको प्रयोग यो नाटकमा पनि देखिन्छ । कलाकारहरू सामग्रीहरूसँग भन्दा पनि भाव, हाउभाउ र अभिनयमा बढी भिज्छन् ।
सकुनीको रूपमा राज शाहले गरेको षड्यन्त्रकारी र कुटिल अभिनय प्रशंसायोग्य लाग्छ । त्यस्तै दुर्योधन बनेका राम केएसी र युधिष्ठिर बनेका रमेश खड्काले गरेको अभिनय उत्तिकै लोभलाग्दो लाग्छ । धृतराष्ट्र बनेका ओममणि शर्मा, अर्जुन बनेका श्याम खड्कासँगै अभिनित मल्ल, साधना भण्डारी, मीना खड्का, अर्जुन न्यौपाने, आदित्य शर्मा लगायतको अभिनयले पनि मन छुन्छ ।
नाटकमा खासगरी नेपाली राजनीतिको कुरूपतालाई उजागर गरिएको छ । नेपाली राजनीतिका पात्रहरू मूल्य-मान्यतामा यतिसम्म गिर्छन् कि धृत्तराष्ट्रको अभिनय गर्ने ओममणि नाटकभित्रै भन्छन्, 'बन्द गरौं यो नाटक । म यो नाटकको कलाकारभन्दा पनि शिक्षक ओममणि बन्न चाहन्छु ।' नाटक वैशाख २७ गतेसम्म नियमित मञ्चन हुने जनाइएको छ ।
प्रकाशित मिति: २०७१ वैशाख १२ ०९:०९
-------------------------------------------------------
बैसाख १ देखी २७ सम्म मन्चन भएको नाटक शकुनी पासाहरु फेरी एक साता अर्थात जेष्ठ ४ देखी १० सम्म हरेक दिन साँझ ५:१५ बजे पुन: मन्चन हुँदैछ!
स्थान: सर्वनाम थियटर कालिकास्थान काठमाडौं
संपर्क: ०१-४०११०२७

No comments:
Post a Comment