हाम्रो आनुरोध

हामीले थाहा पाए सम्म र हामीलाई इन्बोक्स र ईमेल मा प्राप्त भएका सुचनाका आधार मा हामीले नाटक सम्वन्धी गतिबिधीहरुका सुचनाहरु सम्प्रेसण गरेका छौ। हामीले सकेसम्म काठमाडौं र असपासका नाट्य गतिबिधी लाई मात्रै नभै सम्पूर्ण देश भरिकै सुचना हरु सम्प्रेसण गर्ने प्रयास गरेका छौ। त्यसैले हामी लाई तपाईंका नाट्य गतिबिधीलाई हामी सम्प्रेसण गर्ने छौ । तपाईं का गतिबिधी हरुलाई हामीलाई इन्बक्स ( www.facebook.com/TheaterNepali )वा ईमेल theaternepali@gmail.com वा टुइटरमा मेन्सन गर्नुहोला https://twitter.com/theaternepal

Wednesday, December 10, 2014

चौतारीबाट देखिएको देश

काठमाडौ, मंसिर २४ - अहिलेको समय कसरी बगिरहेको छ? समाज, मुलुक र राजनीतिमा के भइरहेको छ? अनि नयाँ पुस्ता र तिनका सपना? यी प्रश्नको जवाफ खोज्नुअघि केही दृश्यमा पसौं- शिक्षित मान्छे बहुलाएर सडकमा हल्लिँदै हिँड्छन्। पाठशालामा भेटिनुपर्ने मधुशालामा भेटिन्छन्। बन्दुक समाउनेहरू आफ्नो विगत स्मरण गर्छन् र वर्तमानप्रति दिग्दारी। यी दृश्यहरू हुन नाटक 'प्रतीक्षालयमा मेटिएका कथाहरू'को। २० दिने लामो कार्यशालापछि क्रिएटिभ ग्रुपले तयार पारेको यो नाटक शिल्पी थिएटरमा मञ्चन भइरहेको छ।
श्याम सापकोटाको निर्देशन र सुभाषिश पराजुलीको लेखन रहेको नाटकले हाम्रै वरिपरि देखिने/भेटिने पात्रहरूले लक्ष्य प्राप्तिका लागि गरेका संघर्षका कथाहरू, विगतका पर्खाइ र वर्तमानका कथा वाचन गर्छ। हरेक वर्तमानको सम्बन्ध विगतसित जोडिएको हुन्छ। अहिले नेपाली समाजमा भइरहेको विशृंखलता, अव्यवस्था र अराजकताका कारक नै मुलुकको विगत हो। त्यही कारण सडकका हरेकसित मेटिएका कथाहरू नाटकमा हेर्दैगर्दा दर्शकले विगतको स्मरण गर्न पुग्छन्। नाटकमा भने एउटा चौतारी र त्यहाँ डुलिबस्ने एक पागलको माध्यमबाट कथा भन्न खोजिएको छ। हातमा डिग्री पासको सर्टिफिटेक र फाइल बोक्दै जागिरका लागि सहरमा भौंतारिने युवती केहि सीप नलागेपछि देह व्यापार गर्न बाध्य हुन्छिन्। युवकको हालत पनि उस्तै छ। मुलुकजस्तै पारिवारिक अव्यवस्था र मायाको अभावमा उनीहरू कुलतको खाडलमा खसिरहेका छन्। यो नयाँ पुस्ताको पीडाको सम्बोधन कसरी हुन सक्छ? नाटकले प्रश्न उठाउँछ। अहिलेका युवाहरू कता छन्? के गर्दै छन् र उनीहरूको अवस्था के छ? नाटकले अलि बढी प्रस्ट्याउने कोसिस गर्छ। एक हिसाबले 'प्रतीक्षालयमा मेटिएका कथाहरू' युवा पुस्ताले देखेको मुलुकको यथार्थ वर्णन हो।
सबै दृश्य मञ्चमा राखिएको चौतारीकै वरिपरि घुमिरहेको हुन्छ। तर, बादल भट्टको कलात्मक कोरियोग्राफीले कथावाचनलाई पट्यारलाग्दो हुनुबाट जोगाएको छ। मर्निङवाक गर्न आउने लाहुरे पात्रले मुलुकबारे चिन्ता व्यक्त गर्दा, युवाहरू दयनीय हिसाबले कुलतमा फस्दा, युवतीहरू देह व्यापारसँगै यौन हिंसाको सिकार बन्दा र सहरी नयाँ पुस्ता उत्पादनशील कार्यतिर भन्दा डिस्को, डान्सबारतिर बढी लहसिँदा दर्शकको मन चसक्क हुन्छ। धेरै सन्दर्भहरू अँध्यारा र निराशाका भए पनि नाटकले आशावादिताको वकालत गर्छ।
रमाइलो व्यंग्यात्मक शैलीमा समाजको गम्भीर विषयमाथि प्रकाश पार्न निर्देशकले राम्रै मिहिनेत गरेका छन्। युवाहरू बिगि्रनुको कारण खुलाएर नाटकलाई यथार्थको नजिक पुर्‍याएका छन् लेखकले। देशको अव्यवस्थाकै कारण हरेक क्षेत्रमा बेथिति पैदा भएको नाटकले प्रस्ट्याउन खोजेको छ। साथै आन्तरिक रूपमा मुलुक बलियो नभएकै कारण विदेशी शक्तिहरूको चलखेल बढेको प्रसंगमार्फत तन्नेरी पुस्तालाई सजग समेत तुल्याएका छन्। पागल पात्र नाटकको मुख्य सूत्रधार हो। चौतारीमा बसेर देखेको बहुरंगी समाजले उसको मस्तिस्कमा कस्तो असर परेको होला? यसको क्रमबद्ध खुलासा नाटकको अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। ४५ मिनेटको नाटकमा सुभाषिश पराजुली, वामदेव केसी, शेखर नेपाल, मनीष भट्टराई, ग्रीष्मजंग कार्की, रक्षा देउजा, रञ्जु गिरी, नरेश बराइली, भुवनेश्वर पौड्याल, सरोज भट्टराई, सुलभ खड्का लगायतले अभिनय गरेका छन्। संगीत संयोजन किरण चाम्लिङ राई, मञ्च व्यवस्थापन बादल भट्ट र प्रकाश संयोजन जीवन बरालले गरेका छन्। नाटक पाँच दिनसम्म मञ्चन हुने जनाइएको छ।


प्रकाशित मिति: २०७१ मंसिर २४ ०९:३५
यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो 

No comments:

Post a Comment