कान्तिपुर संवाददाता
काठमाडौ, माघ २५ - उनी फुटेको ऐनामा आफ्नै अनुहार हेर्दै दंग पर्छिन् । ओठ रंग्याउन लाली, हात सजाउन चुरा, निधार चम्काउन टीका । यी दैनिक शृंगार-सामग्री हुन् उनका । जति नै उनी ऐनासँग साक्षात्कार हुँदै जान्छिन् उति नै छेउमै थन्किएको पुस्तकसँग अन्जान बन्दै जान्छिन् । नारी शिक्षाका अभियन्ता मलाला युसुफजाईको किताब छेवैमा पल्टिरहेको छ । लाग्थ्यो- किताब पनि टुलुटुल हेरिरहेको छ, 'कतिबेला कसैले पढ्लान् र पहिचानको खोजीका लागि लड्लान्' भन्न खोजेझैं ।
नाटक 'असीम पानाहरू' मा दीपा कार्कीले एकल अभिनयमार्फत यसरी नारी अस्तित्व र स्वतन्त्रताको अर्थ खुलाउन खोजिरहेकी थिइन् आइतबार साँझ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा दीपासँगै सुपि्रया राना र सविना गोपाली पनि एकल प्रस्तुतिमा उत्रिएका छन् । तीन महिलाको एकल प्रस्तुतिको नाम दिइएको छ- 'त्रि-आयाम', जसमा तीनैजनाले लेखन र निर्देशन गरेको भिन्नाभिन्नै तीन एकल प्रस्तुति हेर्न सकिन्छ । सविनाको नाटक 'काँचुली' र सुपि्रया रानाको 'तासको महल' दुवै नारीकै सन्दर्भसित जोडिएका छन् । रंगमञ्चमा महिला कलाकारको लेखन, निर्देशन र अभिनयमा प्रोत्साहन गर्न अवधारणामा काम गरिएको सर्वनामका प्रमुख अशेष मल्लले बताए । 'महिला कलाकार एकदमै कम छन्,' उनले भने, 'त्यसमा पनि निर्देशन र लेखनमा त पाउनै गाह्रो ।'
नाटकमा तीनै कलाकारले आ-आफ्नो अवधारणा र निर्देशनमा काम गरेका छन् । अवधारणाको हिसाबले दीपाको 'असीम पानाहरू' नाटकको उत्कृष्ट मान्न सकिन्छ । शृंगार, घरेलु काम, समाजको निश्चित सीमाभित्र मात्रै रमाएकी एक महिला कसरी आफ्नो अस्तित्वका लागि समाजसँग विद्रोह गर्न पुग्छिन् भन्ने प्रसंग २० मिनेटको अवधिमा पस्किएको छ । 'मुक्ति' नाम भएकी ती पात्र नामअनुसार मुक्त छैनन् । फुटेको सिसा, चुरा र कस्मेटिक शृंगारमा रमाएकी उनी अध्ययनपछि मात्रै समाज रूपान्तरणको चुनौती मोल्न सक्षम हुन्छिन् ।
सुपि्रयाले 'तासको महल' मा यौन व्यवसाय अँगालेकी महिलाको कुन्ठित प्रेम भाव खोतल्ने प्रयास गरेकी छन् । कसैको प्रेममा परेकी ती युवती मनमनै सपना सजाउन थाल्छिन् । कल्पनाको संसारमा हराउँदै जान्छिन् । आफ्नै अन्तरमनसँग भलाकुसारी गरिरहेकी उनको वास्तविक जीवनमा चाहिँ त्यस्तो सरल र स्वप्नमय केही पनि हुँदैन । आफूजस्तो यौनकर्मीलाई कसले स्विकार्ला ? भित्रभित्रै यिनै दुविधामा परेकी ती पात्रले चाहेर पनि पेसा छाड्न सक्दिनन् । ग्राहक र दलालको जबर्जस्ती व्यवहारका कारण यौन व्यवसायमा होमिनुपर्ने बाध्यता नाटकमा देख्न सकिन्छ । सुरुमा रहस्यमय बनाएर अन्तिममा कथाको खुलासा गर्नु सुपि्रयाको परिकल्पनाको सक्षम पाटो
मान्न सकिन्छ ।
सविनाको 'काँचुली' ले चाहिँ फरक शैलीमा नारी स-शक्तीकरणको विषय उठान गरेको छ । स्वैरकाल्पनिकता मिसिएको नाटकले धेरै हदसम्म सांकेतिक सन्देश दिन खोजेको पाइन्छ । बेग्लै लोकमा सुख शान्तिले बसेकी महिला स्वतन्त्र भएर पृथ्वीमा बसाइ सर्न चाहन्छिन् । अनेक प्रयत्न गरेर उनी त्यहाँ आइपुग्छिन् । तर, पृथ्वीमा बस्नु उनले सोचेजस्तो सरल हुँदैन । अनेक हिंसा, दुव्र्यवहार र असमानताको सामना गर्नुपर्ने नारी समाजको वास्तविकतामाथि उनले व्यंग्य कसेकी छन् नाटकमार्फत । अन्तिममा सबै संघर्षको सामना गरी आफ्नो अस्तित्व कायम गर्नु तीनवटै नाटकको मूल प्रयत्न देखिन्छ ।
नाटक फागुन २ गतेसम्म मञ्चन हुनेछ ।
प्रकाशित मिति: २०७१ माघ २६ १०:२४ काठमाडौ, माघ २५ -
कान्तिपुर दैनिकबाट साभार
No comments:
Post a Comment