काठमाडौ, फाल्गुन १७ -
देश कोमामा छ, या राजनीति ? नाटक 'कोमा ः अ पोलिटिकल सेक्स'ले दर्शकलाई
यस्तै प्रश्नको जवाफ खोज्न बाध्य बनाउँछ । मुलुकको राजनीतिक परिस्थितिलाई
व्यंग्य गर्दै बनाइएको यही नाटक मञ्चनमार्फत शनिबार बत्तीसपुतलीस्थित
शिल्पी थिएटरको गोठाले नाटकघर औपचारिक उद्घाटन गरियो । दिवंगत नाटककार
गोविन्दबहादुर मल्ल गोठालेको नामबाट स्थापित नाट्यशालाको संस्कृतिविद्
सत्यमोहन जोशीले नीलो पर्दा खोलेर उद्घाटन गरे । नाटक मञ्चन भने अभि
सुवेदीले गोठालेको तस्बिर देखाएर र सुनील पोखरेलले बन्द भवनको ढोका उघारेर
सुरु गरिएको थियो ।
कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशन रहेको नाटक अर्धमूर्त
शैलीको छ । पात्रले गर्ने क्रियाकलाप, भाषाशैली र शारीरिक हाउभाउले दर्शकको
मन तान्छ । निर्देशक घिमिरेले असान्दर्भिक लाग्ने दृश्य तर सबैमा
अन्तरनिहीत असम्बन्धित घटना सम्बन्धित रूपमा नाटकमा देखाउन खोजिएको बताए ।
उनले नाटकको सन्दर्भसँगै ८ वर्षदेखि नाटक यात्रा सुरु गरेको प्रसंग कोट्याए
। 'बिरालाले पाठा सारेझंै नाटक मञ्चन गर्न स्थान खोजिरहेका थियौँ,' उनले
भने, 'सपना बल्ल साकार भो ।'
१७ आना जग्गा भाडामा लिएर नाटकघर निर्माण गरिएको हो । २ सय १० दर्शक अट्ने
नाटकघरमा बाल्कोनी समेत छ, दर्शक खचाखच थिए । करिब डेढ घन्टे नाटकमा लेखक
कुमार नगरकोटी स्वयम्ले अभिनय गरेका छन्, मल्टी मिडियाको रोचक प्रस्तुति
देख्न सकिन्छ । प्रकृति कार्की, रोशन मेहता, बादल भट्ट, गोविन्द पराजुली,
टंक टाइगर, जीवन बराल, सरिता साह, पवित्रा खड्का, किरण चाम्लिङले लगायतले
अभिनय रहेको नाटक एक महिना मञ्चन हुनेछ ।
प्रकाशित मिति: २०७० फाल्गुन १८ १०:५२

No comments:
Post a Comment