काठमाडौ, फाल्गुन १७ -
पछिल्लो समय युवा रंगकर्मी संस्कृतिभित्र लुकेका रोचक कथा नाटकमार्फत
बाहिर पस्किने जर्मको गरिरहेका छन् । 'मितज्यू' पछि मण्डला थिएटरमा पशुपति
राईले अर्को यस्तै रोचक किराँत स्वादको नाटक 'हेत्छाकुप्पा' मञ्चन थालेेकी
छन् । राजन मुकारुङको लेखन रहेको नाटक पौराणिक लोककथामा आधारित छ ।
एक दशक रंगकर्मको अनुभव बोकेकी पशुपतिले पहिलोपटक-निर्देशन गरेकी हुन् ।
शुक्रबारदेखि नियमित मञ्चन थालिएको नाटकबाट पशुपतिले राम्रो प्रशंसा पाएकी
छन् । नाटकमा नयाँ पुस्ताले संस्कृतिको पालना गर्ने कोसिस गरेका हुन्छन् ।
तर, त्यसको वास्तविक अर्थ भने थाहा हुँदैन । मेलामा आधुनिक केटाकेटी आफ्नै
शैलीमा परम्परागत नृत्य 'वापा सिली' नाचिरहेका हुन्छन् । नियाली बसेका
वृद्ध पात्रले सूत्रधार बनेर त्यस नृत्यको नालीबेली खोल्न थालेपछि नाटकको
मूल कथा सुरु हुन्छ ।
किराँती भाषामा हेत्छाकुप्पा भनेको टुहुरो भन्ने बुझिन्छ । हराएका दिदी
खोज्न हेत्छाकुप्पाले जुम्रा, पुतली, चरा, कुखुराको साहारा लिन्छ ।
अन्तिममा कुखुराको भालेले हेत्छाकुप्पालाई दिदीहरूसँग भेट्टाउँछ ।
वापा भनेको किराँती भाषामा 'कुखुराको भाले' हो । भाले शैलीमा नाचिने
भएकाले वापा सिली नाम रहेको हो । उमेश तामाङ, सजन थापा मगरले, अनुपम शर्मा,
सिर्जना सुब्बा, जुनु विष्ट, सिर्जना वान्तवा राई, दिवान रसाइली, नाजिर
हुसेन, विनीता गुरुङ, रुरु पोखरेल लगायतले मन छुने अभिनय गरेका छन् । नाटक
चैत २ गतेसम्म मञ्च हुनेछ ।
प्रकाशित मिति: २०७० फाल्गुन १८ १०:५१

No comments:
Post a Comment