अन्नपूर्ण पोस्टबाट
काठमाडौं : भनिन्छ 'सत्य डग्मगाउँदै, झूटो टिक्दैन'। सत्य नडग्मगाए पनि सत्यलाई हेर्ने र बुझ्ने दृष्टिकोण व्यक्तिपिछे फरक हुन सक्छ। सत्यप्रति फरकफरक चरित्रको दृष्टिकोण समेटिएको नाटक आरोहण गुरुकुलका कलाकारले अहिले मण्डला थिएटरमा मञ्चन गरिरहेका छन्। सुनिल पोखरेलद्वारा निर्देशित नाटक 'रशोमन्' मा एउटा व्यक्तिको मृत्युको घटनामा संलग्न र प्रत्यक्षदर्शीको फरकफरक बयान समेटिएको छ।
ती प्रत्यक्षदर्शीले घटनालाई आफूअनुसार बुझ्छन् र बुझाउँछन्। तीमध्ये कुनलाई सत्य मान्ने भन्ने बारेमा दर्शकलाई नै बुझ्न छोडिन्छ। तीन वर्षपछि नयाँ नाटक निर्देशन गरेका सुनिल नाटक सकिएपछि दर्शकले बुझेनबुझेको बारेमा प्रतिक्रिया लिइरहेका थिए।
'नाटक कस्तो होला भन्ने कौतुहल आफैंलाई थियो', एक महिनाको तयारीपछि नाटकको बारेमा उनले भने, 'नाटक पढ्दा र अनुवाद गर्दा सजिलै लागेको थियो। मञ्चमा उतार्दा भने त्यति सजिलो भएन।' सत्यप्रति प्रत्येक मानिसको बुझाइ फरक भएजस्तै नाटकप्रति पनि फरक हुने उनको भनाइ थियो।
नाटकको पहिलो शो हेरेर बाहिरिएका दर्शकको सकारात्मक प्रतिक्रिया सुनेर उत्साहित सुनिलले यसलगत्तै अर्को ल्याउने पनि बताए। 'यसपछि इन्द्रबहादुर राईको 'जार' लाई मञ्चमा ल्याउँछु', उनले भने।
सन् १९१५ मा प्रकाशित रियुनोसुके आकुतागाबाको कथालाई फे र माइकल क्यानिन्ले नाट्य रूपान्तर गरेका हुन्। नाटकलाई सुनिलले अनुवाद र नेपाली परिवेशमा ढाल्ने काम गरेका छन्। जापानी सामुराई योद्धा सहभागी नाटकलाई नेपाली राणाकालीन उच्च घरानियाँको योद्ध सहभागी बनाएर नेपाली परिवेशमा उनले रूपान्तर गरेका छन्।
नुवाकोटको त्रिशूली छेउछाउको कुनै घाट नाटकको सेटको रूपमा चित्रित हुन्छ। कथाको मुख्य पात्र ताजोमरुलाई 'जब्बरे' नामको जंगली डाकुको रूपमा देखाइएको छ। जापानी कथालाई नेपालीकरण गरिँदा नेपालकै कुनै परम्परागत कथाजस्तै लाग्छ। रंगमञ्चमा कमै प्रयोग हुने द्वन्द्व यो नाटकमा रहेको छ।
नाटकमा प्रदीप चौधरी, विपिन कार्की, राजकुमार पुडासैनी, प्रवीण खतिवडा, विजय बराल, सरिता गिरी, सुरेश चन्द र निशा शर्माको अभिनय रहेको छ। यो कथामा आधारित रहेर सन् १९५० मा बनेको चलचित्र पनि विश्वप्रसिद्ध छ।

No comments:
Post a Comment