नाटकका कथा लेखक कुनै नाम चलेका स्रष्टा छैनन्। कलाकारहरूले आ-आफ्नै वास्तविक कथा सुनाउँछन्। तर, तिनीहरूको कलात्मक शैली र मन छुने अभिनयले भने दर्शकहरूको संवेदनाको भित्री तह छोइदिन्छ, दर्शकहरूले ती कथामा आफूलाई महसुस गर्न थाल्छन्।
सोर्हौं शताब्दीमा युरोपमा छाएको आर्थिक-राजनीतिक मन्दीका कारण समाजमा उत्पन्न विशृंखलताविरुद्ध व्यंग्य गर्दै कलाकारहरू सडकमा निस्किँदा जन्म भएको आर्ट र्फम 'कमेडिया देलाआर्ते' सँग नजिक रहेर शिल्पीले सुरु गरेको कला कार्यशालाअन्तर्गत निर्मित नाटकका दुइटा शृंखला यसअघि नै मञ्चन भइसकेका थिए। नयाँ कलाकार र कथासहितको तेस्रो शृंखला भने गत शुक्रबारदेखि सुरु भएको हो। यो नाटकमा कलाकारहरू बिना प्रप्स र मञ्च सजावट आफूलाई अभिव्यक्त गर्छन्।
विभिन्न टेलिशृंखलामा आफूलाई प्रस्तुत गरिसकेकी निरु खडकाले नाटकको सुरुवाततिरै आफ्नो कथा सुनाउँछिन्। काठमाडौंको डेरा बसाइ, बुवा र आमाले गर्ने फरक व्यवहार, आमाले छोरीप्रति देखाएको आत्मीयता अनि तिनै आमाको अन्त्येष्टिबाट वञ्चित गरिएको पुरातन सोचका कथाहरू भन्दै गर्दा दर्शकहरूले थाहै नपाई आँसु बगाउँछन्। सानै छँदा आमा गुमाउनुपरेको र आमा घर नफर्केपछि 'आज हैन, भोलिपर्सि फर्किन्छिन्' भन्ने छिमेकीको आश्वासनमा कुरी बसेको बाल सुलभताको प्रस्तुति मोहक लाग्छ।
यसपछि आफ्नै आवाज र हातखुट्टाको चाल मिलाएर सांगीतिक रूपमा प्रस्तुत गरिएको श्रमजीवीहरूको दिनचर्या पनि मन छुने छ।
अब पालाम गाउँदै पूर्वी नेपालको लिम्बू समुदायको कथा भन्न मञ्चमा देखिन्छन् अनिल सुब्बा। जाँडसित जोडिएको लिम्बू संस्कृतिको प्रस्तुतिसँगै सुरु उनको कथावाचन सशक्त लाग्छ। सानैमा स्कुल जाँदा गरेका ससाना गल्ती, घरमा बुबाआमा र दिदीहरूलाई ढाँटछल गर्दै दिएको दुःख जस्ता सामान्य सन्दर्भलाई पनि उनले निकै राम्रोसँग प्रस्तुत गरेका छन्। दाउरा बेचेरै भए पनि आफूलाई माया गरेर पाइन्ट किनिदिने दिदीको पैसा चोर्दा उत्पन्न हुने परिस्थिति समेटिएको प्रस्तुतिमा पनि दर्शकहरूका आँखा रसाउँछन्।
'एलो कमेडी भनेको नै यस्तै हो,' शिल्पीका आर्टिस्टिक डाइरेक्टर घिमिरे युवराजले भने, 'हाँस्दै रुने, रुँदै हाँस्ने।'
समय थिमको अन्मी प्रस्तुतिले चाहिँ भिन्नै विषयवस्तु समात्छ। विभिन्न दृश्य रचनामार्फत सत्य, त्रेता, द्वापर हुँदै कलियुगसम्म देखाइएको यो प्रस्तुतिमा वातावरण संरक्षणमा दिन-प्रतिदिन चुक्दै गइरहेका मानिसहरूको दयनीयता झल्काइएको छ। वाग्मती नदीलाई प्रतीक बनाइएको यो प्रस्तुति निकै अर्थपूर्ण लाग्छ। सम्रान्त थापा, सागर चन्द, निर्मला रायमाझी, सबिन कट्टेल, सुवास डाँगीले नाटकमा खेलेका छन्। घिमिरे युवराज, क्यामिला र गंगाप्रसाद उप्रेतीले दिएको कार्यशालाबाट निर्मित नाटकमा माइम परिकल्पना रोशन मेहताले गरेका छन्।
नाटकमा कलाकारहरूले माइम र भावबीचको संयोजन कुशल ढंगले गरेका छन्।नाटक शनिबारसम्म मञ्चन हुनेछ।
(कान्तिपुर दैनिकबाट साभार)
प्रकाशित मिति: २०७१ मंसिर १५ १०:१५

No comments:
Post a Comment