
स्पेनिस नाटककार फेडि्रको गार्सिया लोर्काले १९३६ मै लेखेको यो नाटकलाई वान वल्र्ड थिएटरले भिलेज थिएटर लाजिम्पाटको सहकार्यमा मञ्चन थालेको हो । धेरै पहिले लेखिएको भएपनि नाटकको विषयवस्तु भने समय, भूगोल र संस्कृति निरपेक्ष देखिन्छ । सपन्नताको चौघेराभित्र बाँझोपन खेपिरहेकी एक विवाहित युवतीले अनुभूत गर्ने रिक्तता, पीडा र छटपटिमा नाटक केन्दि्रत छ । यसलाई निर्देशन गरेका छन् विमल सुवेदीले । मुख्य चरित्र अर्थात् 'बाँझी आइमाई' यार्माको भूमिकामा अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेकी छन् । फिल्मी पर्दामा क्युट र ब्युटी
देखिने नम्रता नाटकमा भने भिन्न देखिएकी छन् । कथा स्पेनिस भए पनि नाटकमा नेपाली मौलिकता झल्काउने प्रयास गरिएको छ । प्रप्स, टेक्स्चर र परिवेशमार्फत् परम्परागत नेपाली समाज अनुभूत गर्न सकिन्छ । सन्तानको चाहनाले पिरोलिएकी यार्माजस्ता थुपै्र मातृत्वका अवसर गुमाएका नारीहरूको यथार्थ मनोभाव नाटकमा देख्न सकिन्छ, एक नारी पूर्ण हुन प्रेमसँगै मातृत्व पनि चाहिन्छ भन्ने सन्देशसहित ।
पुरुषप्रधान समाजमा मातृत्वको चाहना भएर पनि खुलेर भन्न नसक्ने अवस्थाप्रति भने व्यंग्य गरेझैं अनुभूति हुन्छ । आफू सन्तान प्राप्तिका लागि अक्षम भएको थाहा पाएपछि पनि यार्माका पति पत्नीको मनोभाव बुझ्ने गरी प्रस्तुत हुँदैनन् । निःसन्तान नारीलाई समाजले लगाउने अनेक लान्छनालाई नाटकमा मसलाको रूपमा प्रस्तुत गरिएको छ ।
अभिनयसँगै गीत, संगीत र नृत्यको पनि संयोजन गरिएको छ । सुन्दर तर दुःखी नेपाली नारीको रूपमा नम्रता निकै खुलेकी छन् तर, उनको अभिनय भने चरित्रअनुसार रंगमञ्चमैत्री अझै भई नसकेको अनुभव हुन्छ । संवाद उच्चारण र गम्भीरता प्रदर्शनीमा उनी केही खारिनुपर्ने देखिन्छ । उनको यो तेस्रो नाटक हो । फिल्ममा जस्तो नभई रंगमञ्चमा दिनैपिच्छे सुधार्ने अवसर पाइने हुँदा अभिनयमा केही नयाँ कुरा सिक्ने धारणा नम्रताको छ । पुरुष पात्रको मुख्य भूमिकामा रहेका राजकुमार पुडासैनीको अभिनय प्रशंसायोग्य लाग्छ । सिर्जना अधिकारी, कमलमणि नेपाल, शर्मिला शाह, शारदा अधिकारी, मनीषा थापा, अनिता थापा, सुम्निमा साम्पाङ, बिनु लामा लगायतले पनि मनछुने अभिनय गरेका छन् । नाटकको नेपाली भाषा अनुवादचाहिँ सृष्टि भट्टराईले गरेकी हुन् । नाटक डिसेम्बर २१ सम्म मञ्चन हुने बताइएको छ ।
प्रकाशित मिति: २०७१ मंसिर १४ ०९:०२
समाचार कान्तिपुर दैनिकबाट साभार तस्बिर: नबिन गुरुङ (streetnepal.com)
थप तस्बिरका लागी यो लिन्कमा जानुहोस

No comments:
Post a Comment