नेपालको
राजनीतिक परिवर्तनको इतिहास निकै गर्वलाग्दो छ । इतिहासमा पटक–पटक जनता
परिवर्तनका लागि जागेका छन् । उनीहरूले चाहेजस्तो शासन व्यवस्था स्थापना
भएका छन् । शासक परिवर्तन भएका छन् । तर, जनताले चाहेजस्तो
परिवर्तनको अनुभूति भने गणतन्त्रप्राप्ति हँुदासम्म हुन सकेको छैन ।
त्यसको मूल कारण हो– जनताको प्रतिनिधित्व गरी शासनसत्तामा पुग्ने नेतृत्वमा
पैदा हुने अहम्वादी मूर्ख चिन्तन र त्यसलाई लागू गर्न अवलम्बन गरिने
गैरजिम्मेवार तथा क्रूरतापूर्ण तौरतरिका ।
जति नै क्रान्तिकारी कुरा गरेर शासनमा
पुगे पनि त्यहाँ पुगेपछि बेइमान, लोभीपापी चाटुकारको घेरामा पर्नु र तिनको
इशारामा सञ्चालित हुनु हरेकजसो शासकको नियति बन्न पुगेको छ । यही विषयलाई
साहित्यकार राजवले मिथकीय कथ्यमार्फत नाटकमा उतारेका छन्– ‘लोचनवंशको
साक्ष्य’मा । जुन नाटक ०६२ मा समकालीन साहित्य त्रैमासिकमा छापिएको थियो ।
जुनवेला दोस्रो जनआन्दोलनको तयारी हुँदै थियो । तर, जनआन्दोलनको सफलता र
गणतन्त्र घोषणाको पाँच वर्ष पूरा भइसकेको अवस्थामा पनि नेपाली राजनीतिको
चित्र फेरिएको छैन ।
संविधानसभामार्फत संविधान निर्माण गर्ने
सपनाको आकाशमा अधिकांश राजनीतिक दलका नेतामा देखिएको उही चरित्रका कारण
उत्तिकै घना बादल मडारिइरहेको छ । यसैवेला थिएटर मलले ‘लोचनवंशको
साक्ष्य’नाटकलाई ‘बदरङ’ नाम दिएर सोमबारबाट मञ्चन सुरु गरेको छ । सुस्केरा
कलासमूह र थिएटर सेन्टर फर चिल्ड्रेनले स्थापना गरेको यो नाटकघरले
स्थापनाको चार महिनापछि आफ्नो पहिलो नाटक प्रस्तुत गरेको हो । यसअघि यसमा
विभिन्न नाट्यसमूहका नाटक मञ्चन गरिएको थियो ।
नाटक मिथकीय कथामा अघि बढ्छ । लोचनवंशका
राजालाई आफ्नो पुर्खा मूलबस्तीमा सदीयौँदेखि राज गरिरहेको थियो भन्ने आभाष
हुन्छ । तर, त्यसको पुष्टि गर्ने कुनै साक्ष्य भेटिएको हुन्न । तर, त्यो
प्रमाणित नभएसम्म मौनव्रत लिने निर्णय राजाले गर्छन् । त्यसैले
पुरातत्त्वविद्लाई त्यसको उत्खननको जिम्मा दिइन्छ । तर, पुरातत्त्वविद्ले
अध्ययन र उत्खनन दुवै गर्दा पनि त्यसको साक्ष्य प्राप्त गर्न सक्दैनन् ।
चाटुकारहरू भने राजाको आभाष सही रहेको र पुरातत्त्वविद् षड्यन्त्रकारी भएको
पुष्टि गर्न लाग्छन् ।
पुरातत्त्वविद् र उनका सहयोगीलाई जेल
हाल्छन् । त्यसैले एक गाउँलेलाई घगडान पुरातत्त्वविद्को रूपमा प्रस्तुत
गर्छन् । उसलाई राजासामु बोल्न र जसरी पनि साक्ष्य प्रस्तुत गर्ने वाचा
गर्न लगाउँछन् । उसले आफू पनि जेल परिने डरले आफ्नो बाजेले प्रयोग गर्ने
पुरानो कोपरालाई उत्खननका क्रममा प्राप्त साक्ष्यका रूपमा प्रस्तुत गर्छ ।
त्यसले राजा पनि खुसी हुन्छन् र चाटुकारहरूको इनाम पाउने स्वार्थ पनि पूरा
हुन्छ । त्यस कोपरालाई मन्दिर बनाएर प्रतिस्थापित गरिन्छ र पूजा गर्ने
परम्परा सुरु गरिन्छ । नाटकको मूल सार यही हो । यसमार्फत नाटककारले नेपाली
राजनीतिको कुरूप यथार्थलाई कठोर व्यंग्य गरेका छन् ।
नाटकलाई जीवन्त पार्न र संवादलाई रोमाञ्चक
बनाउन निर्देशक केदार श्रेष्ठले गरेको मिहिनेत नाटकमा देखिन्छ । उनले
प्रतीकात्मक अर्थ दिन नाटकको शीर्षक ‘बदरङ’ बनाएका छन् ।
मिथकीय कथालाई आधुनिक परिवेशसँग तादाम्यता
मिलाउन परम्परागत र आधुनिक पहिरनको फ्युजन गरिएको छ । रंग समूहको संगीतले
नाटकलाई न्याय गरेको छ । नाटकघरको संरचना पूर्ण हुन बाँकी नै रहेकोले पनि
हुन सक्छ, प्रकाश संयोजन भने केही कमजोर लाग्छ । नाटकमा भावप्रवाह गर्न
प्रकाशले सघाउ पुर्याउन सकेको देखिँदैन । दृश्य परिवर्तनको पछिल्लो
‘ग्याप’मा रोमाञ्चक ‘ट्रान्जिसन’ छन् । तर, पहिलो चरणका केही दृश्यको बीचमा
भने दर्शकले ‘ग्याप’ अनुभूत गर्छन् ।
नाटक संवादप्रधान छ । त्यसैले कथा सहजै
बुझिन्छ । नाटकमा ग्रामीण परिवेशलाई चित्रण गरिएको छ । गोठालो जानु, बाघचाल
खेल्नु, धारामा महिलाहरू बाझाबाझ गर्नुजस्ता दृश्यले ग्रामीण परिवेशलाई
जीवन्त बनाएको छ । त्यस्तै कुरा बुझेर पनि पटक–पटक भ्रममा परिरहने
नागरिकलाई सचेत बनाउन खोजेको छ ।
जतिसुकै अन्याय, अत्याचार गरे पनि उसको
प्रिय बन्न प्रतिस्पर्धा गर्ने युवती र राजालाई स्वागतका लागि तँछाम–मछाड
गर्ने गाउँलेले त्यसतिर लक्षित गर्छन् । गाउँले महिला पात्र बनेकी सञ्जिता
सञ्जी र ब्राह्मण बनेका वासुदेव खनालको अभिनय निकै जीवन्त छ । राजा बनेका
रमेश श्रेष्ठको अभिनयमा केही नाटकीय भाव देखिए पनि अन्त्यसम्म देखिने उही
लयले दर्शकलाई ‘कन्भिन्स’ गर्न सक्छ । प्रमुख प्रशासकको अभिनयले
चाटुकारितालाई जीवन्तता दिन्छ । नक्कली पुरातत्त्वविद् बनेका अभय बराल र
गोठालो बनेका विजय ताम्राकारको अभिनयमा पनि धेरै खोट लगाउन सकिँदैन ।
टंक टाइगर, प्रदीप भण्डारी, अशोक राई,
अनुज पाण्डे, सबिर चुरौटे, ममता लामिछाने, आइपी आचार्य र निशान अधिकारीले
पनि आफ्नो भूमिकालाई न्याय गर्ने प्रयत्न गरेका छन् । सशक्त, समसामयिक र
सम्प्रेष्य कथावस्तु रहेको चर्चित नाटकमाथि सुस्केरा नाट्यसमूहले गरेको यो
मिहिनेतले दर्शकलाई आकर्षित गर्नेछ ।
आजको नयाँ पत्रीका दैनिकबाट
तस्बिर: थिएटर हब
तस्बिर: थिएटर हब

No comments:
Post a Comment