![]() |
| ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ को एउटा दृश्य । |
सरुभक्तको लोकनाटक ‘सिरुमा रानी’ मञ्चनका लागि उनीहरू निकै लागि परेका थिए। प्रशिक्षार्थी कलाकार भएकाले पनि सक्दो मिहिनेत गरेर दर्शकमा अभिनयको राम्रो छाप राख्ने सोच थियो।
विनाशकारी भूकम्पले बीचमा केही खलबली मच्चिए पनि मण्डला थिएटरका तिनै प्रशिक्षार्थी कलाकार उही उमंगका साथ फेरि नाटक देखाउन रंगमञ्चतिर लम्किँदै थिए। अनामनगरस्थित थिएटरमा उनीहरूले जेठको पहिले साता नै नाटक मञ्चन गर्ने तयारीमै थिए। फेरी २९ गते अर्को भुकम्प आएपछि थिएटरले योजना बदलेको छ। मण्डलाका अध्यक्ष एवं कलाकार दयाहाङ राईले सरुभक्तको नाटक ‘सिरुमा रानी’ लाई केही समय थाती राखेर आफैंले रमाइलो प्रकृतिको नयाँ नाटक तयार गर्ने लागेको जनाए।
उनले आपत्कालीन यो समयलाई भुलाउन नाटकले सघाउ पुर्याउने हुँदा रमाइलो प्रकृतिको नयाँ नाटकको तयारीमा लागेको बताए। ‘सकारात्मक मनोविज्ञान र आशाको वाताबरण दिन अहिलेको सन्दर्भमा अलिक रमाइलो शैलीकै नाटक बनाउनुपर्छ’ उनले भने, ‘त्यही भएर नयाँ योजना बनाएका हौं।’
लाजिम्पाटस्थित थिएटर भिलेजमा पनि नाटक मञ्चनको योजना छ। महाभूकम्प जानुभन्दा एक दिन पहिले दिलीप रानाभाटको निर्देशन रहेको नाटक ‘सिंहदरबारको टेन्डर’ प्रिमियर सो गरिएको थियो।
रोकिएको त्यही नाटकलाई पुन: देखाउने सुरमा छन् उनी यति बेला। थिएटर भवन पनि सुरक्षित छ। भारतीय नाटककार अजय शुक्लाको नाटक ‘ताजमहलका टेन्डर’ मा आधारित भई दिलीपले नाटक बनाएका हुुन्। भूकम्पको त्रास बिस्तारै हट्दै गएपछि थिएटरमा रोकिएका कामहरू धमाधम सुरु गर्ने योजना बनाइरहेका छन् रंगकर्मीहरू। थिएटर भिलेजका जीवेश रायमाझीेले जेठको २९ गतेदेखि रोकिएको नाटक ‘सिंहदरबारको टेन्डर’ पुन: मञ्चन गर्ने सुर कसेको सुनाए। उनले पहिलो सोमै दर्शकको मनछुने उपस्थितिबाट आफूहरू हौसिएको पनि दाबी गरे। भोलाराज सापकोटा, श्रवण राना, गोपाल अर्याल, प्रकाश दाहाल, जीवन भट्टराई लगायतको अभिनय रहेको नाटकमा भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीप्रति व्यंग्य गरिएको छ। भूकम्पपछिको त्रासपूर्ण माहोलले दर्शकको अपेक्षा नगरे पनि आफ्नो काम र कर्तव्य निरन्तर राख्न थिएटर सुुचारु गर्न थालेको जीवेशले बताए।
उनले भनेजस्तै राजधानीका अरू थिएटर पनि आ–आफ्ना रोकिएका र केही नयाँ सिर्जना गरेका काम मञ्चन गर्न लागेका छन्। सुुन्धारास्थित काठमाडौं मलमा रहेको थिएटर मलमा पनि नयाँ नाटक मञ्चन हुने तयारीमा छ। थिएटरका कला निर्देशक केदार श्रेष्ठ भूकम्पपीडितको मानसिक राहतका लागि तत्कालै काम गर्ने सोचमा छन्। यसका लागि उनको समूहले विभिन्न स्कुल र बालबालिका बीच गएर नाटक देखाउने छन्। यसपछि समय नतोकिए पनि थिएटर मलमा नियमित मञ्चनका लागि अभि सुवेदीको ‘विम्बका सपना’ देखाउने बताए।
भूकम्प अगाडि नै देखाउने तयारीमा रहेको नाटक अब छिट्टै मञ्चन हुने केदारले सुनाए। घनश्याम श्रेष्ठको निर्देशन रहेको नाटकमा सुषमा अधिकारीको एकल अभिनय रहनेछ। गौतम बुुद्धले दरबार छाडेपछि पत्नी यशोधराले भोग्नुपरेको मनोभावलाई नाटकमा पस्किन खोजिएको केदारले बताए। ‘यो नारीप्रधान नाटक हो,’ उनले भने, ‘छिट्टै दर्शकमाझ ल्याउने प्रयास गर्नेछौं।’
कालिकास्थानको सर्वनाम थिएटरमा भने भूकम्प जानुभन्दा अघि अशेष मल्लको लेखन एवं निर्देशन रहेको नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको थियो। थिएटर भौतिक दृष्टिले सुुरक्षित रहे पनि नाटक पुन: मञ्चन गर्ने क्रममा भने अहिले तत्कालै सोच नबनाएको सर्वनामका कलाकार एवं नाटक निर्देशक राज शाहले बताए।
शिल्पी थिएटरले भने शनिबारदेखि नियमित साहित्यिक शृंखला ‘मुक्त अनुभूति’ बाट औपचारिक कार्यक्रमको थालनी गर्यो। नियमित नाटक मञ्चनको योजना अहिले तत्काल नरहेको भए पनि स्थानीय तहका नाटक समूहहरूसँग सहकार्य गरेर ‘गाउँमा रंगमञ्च’ अभियान चलाउने आर्टिस्टिक डाइरेक्टर घिमिरे युवराजले बताए।
‘यो अभियान अन्तर्गत हामी केही ठाउँमा गाउँकै सामग्री प्रयोग गरेर भूकम्प प्रतिरोधी रंगमञ्च बनाउँछौं,’ उनले भने, ‘जहाँ नाटक मञ्चन गर्न पनि मिल्छ, विपत्का बेला स्थानीयले सेल्टरको रूपमा प्रयोग गर्न पनि सक्छन्।’
प्रकाशित मिति: २०७२ जेष्ठ ५ ०८:५२
मधु शाही कान्तिपुर दैनिकबाट सभार

No comments:
Post a Comment