![]() |
| ‘सिंहदरबार टेन्डर’ मञ्चन गरिँदै । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर |
भारतीय नाटककार अजय शुक्लाको ‘ताजमहल का टेन्डर’ को विषयवस्तुबाट प्रेरित भई दिलीप रानाभाटले नाटकलाई नेपाली परिवेशमा ढालेका छन् । निर्देशन समेत उनैले गरेको नाटकमा प्रकाश दाहालले साथ दिएका छन् । उनले विषयवस्तु र परिवेशको सुन्दर तालमेल मिलाएका छन् ।
नाटकको शीर्षकबाटै प्रस्ट छ– विषयवस्तु राजनीतिसँग सम्बन्धित छ । राजनीति भएको ठाउँमा भ्रष्टाचार भई नै हाल्छ, कम्तीमा नेपालको परिवेशमा ।
सरकारी भवन निर्माणको जिम्मा पाएको सरकारी इन्जिनियरको भूमिकामा भोलाराज सापकोटा छन् । उनको स्वाभाविक अभिनयले दर्शकहरूको मन जितेको छ । उनको चरित्र सान्दर्भिक र सुहाउँदो देखिन्छ ।
सरकारले सिंहदरबार बनाउने योजना बनाउँछ, जसको जिम्मा कर्मचारीहरूलाई दिइएको हुन्छ । कर्मचारीहरू भने काममा ढिलाइ र ठगी गर्दै आफ्नै घर बनाउने चलखेल गर्न थाल्छन् । स्थिति कस्तोसम्म हुन्छ भने, एउटा भवनका लागि सरकारी ढुकुटी रित्तिँदै जान्छ । हुँदाहुँदै सरकार नै
ह्वीलचियरमा थलिन्छ ।
‘सिंहदरबारको सपना’ ले भ्रष्टाचारको हाँगो कसरी फैलिन्छ, राज्यको ढुकुटी कसरी रित्तिएको हुन्छ भन्ने कटु यथार्थ नाटकले प्रस्ट्याएको छ ।
‘भूकम्पपछि थिएटर सुरक्षितै रहेकाले पनि नाटकको फेरि उस्तै गरी मञ्चन थालेका हौं,’ दिलीपले भने, ‘दर्शकहरूसमेत बढ्न थालेका छन् ।’
‘सिंहदरबारको सपना’ लाई गम्भीर विषयमा रोचक प्रस्तुति भएको नाटक मान्न सकिन्छ । संगीत सापकोटा, सुजन वली, ऋषभ केसी, सबिर चुरौटे, श्रवण राना, प्रकाश दाहाल, एवनराज उप्रेती, जीवन भट्टराई, गोपाल अर्याल, डार्विन लुङ्गेली, विजय ताम्राकार लगायतको अभिनयले नाटकलाई रमाइलो बनाएको छ । उक्त नाटक असार २२ सम्म मञ्चन हुनेछ ।
कान्तिपुर दैनिकबाट (प्रकाशित मिति: २०७२ जेष्ठ ३२ ०९:०)

No comments:
Post a Comment